काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुलाई अबबाट जथाभावी वाईफाई हटस्पट सञ्चालन गर्न रोक लगाउने भएको छ। प्राधिकरणले मोबाइल सेवा प्रदायकहरू मात्र वाईफाईमार्फत सेवा दिन सक्ने प्रावधान रहेको जनाउँदै, अन्यथा कानुनी कारबाहीको चेतावनी दिएको छ।
प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गर्दै, वाईफाई हटस्पट सेवा सञ्चालन गर्न ‘वाईफाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५’ को पालना गर्नुपर्ने स्पष्ट पारेको छ। सो विनियमावलीअनुसार, आईएसपीहरूले केवल तोकिएको क्षेत्र र सीमित समयको लागि मात्र एकपटकको लग–इनमार्फत सेवा सञ्चालन गर्न पाउने व्यवस्था छ।
हाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत दूरसञ्चार सेवा सञ्चालन गर्ने अनुमति नेपाल टेलिकमले मात्रै पाएको छ भने मोबाइल सेवा दिने अनुमति नेपाल टेलिकम र एनसेलसँग मात्रै छ। यूटीएलले आधारभूत टेलिफोन सेवाको अनुमति पाए पनि हाल सञ्चालनमा छैन।
प्राधिकरणले वाईफाई हटस्पटको प्रयोग गर्दा रेडियो फ्रिक्वेन्सी नीति, २०८० अन्तर्गत पावर लिमिट, ब्याकहल/ब्याकबोन प्रतिबन्ध लगायतका प्रावधानहरू अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था पनि स्मरण गराएको छ। त्यस्तै, टाइप–एप्रुभल प्राप्त रेडियो उपकरण मात्र प्रयोग गर्न निर्देश दिएको छ।
नेपालमा सबैभन्दा ठूलो वाईफाई हटस्पट सञ्जाल वल्र्डलिंकको रहेको छ। यसले ‘वाईफाई एक्सप्रेस’ नाममा देशभर १४ हजारभन्दा बढी स्थानमा निःशुल्क वाईफाई हटस्पट सेवा दिइरहेको छ। एक पटक लगइन गरेपछि स्वतः जडान हुने र समय सीमा नतोकिएको सेवा प्रवाह भइरहेको भन्ने गुनासो आएपछि प्राधिकरणले कडाई गरेको हो।
सूचनापछि अब वल्र्डलिंकसहितका अन्य आईएसपीहरूले तोकिएको नियमअनुसार मात्र सेवा दिन पाउने छन्। प्राधिकरणले यदि तोकिएको मापदण्ड पालना नगरिएमा कानुनी कारबाही हुने स्पष्ट पारेको छ।