काठमाडौं— नक्कली सुन तथा विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–१० का ४७ वर्षीय विमल तामाङ, काठमाडौं बुढानीलकण्ठ नगरपालिका बालुवाखानी बस्ने सिन्धुली दुधौली–१२ का ३९ वर्षीय लालबहादुर घिसिङ, र भक्तपुर मध्यपुर थिमी–१ लोकन्थली बस्ने खोटाङ दिक्तेल मझुवागढी–१४ बुईपाका ३९ वर्षीय भक्तबहादुर गदाल विक रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो।

पक्राउ परेकाहरू काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जना व्यक्तिलाई नक्कली सुनलाई सक्कली सुन भनी देखाएर उनीहरूको गरगहना र नगद ठगी गरेका थिए। त्यस्तै, विदेशी मुद्रा (जस्तै साउदी रियाल) देखाई कम मूल्यमा दिने भन्दै प्रलोभनमा पारी नेपाली रुपैयाँ लुटपाट गरेको समेत अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनीहरूबाट नक्कली सुनका ४ थान ढिक्का, सुनजस्तो देखिने पहेँलो धातु १७ ग्राम ६ सय मिलिग्राम र ना. ५७ प १५१६ नम्बरको स्कुटर बरामद गरेको जनाएको छ।

उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।