भक्तपुर— सूर्यविनायक नगरपालिकामा कवाडी सामान खरिद बिक्री गर्दा समेत अवैध रूपमा कर असुली भइरहेको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन्। उनीहरुले नगरपालिकाका केही कर्मचारी तथा स्थानीय निकायका प्रतिनिधिहरूको मिलोमतोमा कवाडी सामान बोक्ने सवारी साधनबाट गैरकानुनी रुपमा रकम असुली हुँदै आएको आरोप लगाएका छन्।
यसै विषयमा व्यवसायीहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा लिखित उजुरी दर्ता गराएका छन्। उजुरीमा भनिएको छ, “कुनै कानुनी आधार विना कवाडी मालसामान बोक्ने गाडीहरू बाटोमै रोकेर रकम असुली गर्ने काम भइरहेको छ। यसले व्यवसायमा नकारात्मक प्रभाव परेको छ।”
व्यवसायीहरुको भनाइमा, कवाडी उद्योगले फोहोर व्यवस्थापन र पुनः प्रयोगको दृष्टिकोणले महत्वपूर्ण योगदान दिँदै आएको छ । तर स्थानीय तहको यस्तो कार्यले व्यवसाय निरुत्साहित भएको छ।
वाणिज्य विभागका एक अधिकारीले नाम नखुलाउने सर्तमा भने, “उजुरी प्राप्त भइसकेको छ, आवश्यक अनुसन्धानपछि सम्बन्धित निकायलाई निर्देशन दिइनेछ। यदि अवैध असुली प्रमाणित भएमा कारबाही प्रक्रिया अघि बढाइनेछ।”
यस विषयमा सूर्यविनायक नगरपालिकाका प्रवक्तासँग सम्पर्क गर्दा उनले विस्तृत जानकारी पछि मात्रै आधिकारिक धारणा दिने प्रतिक्रिया दिएका छन्।
स्थानीय व्यवसायीहरू अब संगठित रूपमा दबाब सृजना गर्ने तयारीमा छन् भने केहीले कानुनी उपचारको बाटो समेत खोज्ने संकेत दिएका छन्।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        