काठमाडौं— काभ्रेको भुम्लु गाउँपालिका उपाध्यक्ष तथा 'गुण्डा नाइके' का रूपमा चिनिएका दावा लामा (जितेन्द्र) विरुद्धको लागुऔषध सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको हो। लामाले उच्च अदालत पाटनको आदेशविरुद्ध पुनरावलोकनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
२०७१ भदौ २ गते बौद्ध, नयाँ बस्तीस्थित दिव्य पार्टी प्यालेसको स्वीमिङ पुलबाट प्रहरीले लामालाई पक्राउ गरेको थियो। पक्राउको क्रममा प्रहरीले उनको साथबाट एप्पल कम्पनीको मोबाइल एक थान, सामसुङ मोबाइल एक थानसहित १४.८० ग्राम खैरो हेरोइन बरामद गरेको थियो।
सोही घटनामा कञ्चनपुर महेन्द्रनगर नगरपालिका–४ का प्रवीण खड्का र दार्चुला धारी गाविस–७ का वीरेन्द्रबहादुर कुँवर समेत पक्राउ परेका थिए। तर, उनीहरूलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो।
२०७२ मंसिर २७ गते काठमाडौं जिल्ला अदालतले लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(१) अनुसार दावा लामालाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसला उच्च अदालत पाटनले २०७५ असोज १६ गते सदर गरेको थियो।
लामाले उक्त फैसलाविरुद्ध पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए, जसको सुनुवाइ आज तोकिएको हो।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        