काठमाडौं— काठमाडौंको ठमेलस्थित एक दोहोरी साँझमा भएको ‘ग्याङ फाइट’ प्रकरणमा संलग्न दुई समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ठमेलको नगरकोट दोहोरी साँझ मा दुई समूहबीच झै–झगडा भएको घटनाको अनुसन्धानक्रममा यसअघि सानुभाइ नामले चिनिने युवराज गुरुङसहित तीन जनालाई पक्राउ गरिएको थियो।
त्यही घटनामा संलग्न भई फरार रहेका अर्का एक अभियुक्त राजेन्द्र गुरुङ पक्राउ परेका छन्। उनी नुवाकोटको सूर्यगढी गाउँपालिका–१ घर भई हाल काठमाडौंको मनमैजु बसोबास गर्दै आएका ३७ वर्षीय हुन्।
प्रहरीका अनुसार उनीमाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदिप चन्द ले राजेन्द्र गुरुङविरुद्ध २ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए।
प्रहरीले अन्य संलग्न व्यक्तिहरुको खोजी तथा घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        