स्याङ्जा – स्याङ्जाको आँधिखोला गाउँपालिका–१ मा झुटो चोरीको नाटक रचेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४१ वर्षीया चन्द्रकुमारी गुरूङ र उनका देवर ३८ वर्षीय धनराज गुरूङ रहेका छन्।
उनीहरूले साउन १२ गते साँझ घरबाट ७ तोला १० लाल सुन र ४ हजार रुपैयाँ नगद चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। चन्द्रकुमारीले विदेशमा रहेका आफ्ना श्रीमानलाई समेत सुन चोरी भएको जानकारी दिएकी थिइन्।
उक्त उजुरीपछि अनुसन्धान सुरु गरेको प्रहरीले घटनामा शंका लागेपछि थप जाँच गर्दा सुन घरको कम्पाउण्डमै लुकाइएको अवस्थामा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रसन्नराज चौधरीका अनुसार, दुवैले मिलेर चोरीको नाटक रचेको आशंका पुष्टि भएपछि पक्राउ गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        