हालका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जाने नेपालीको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ। यसलाई व्यवस्थित गर्न सरकारले अध्यागमन क्षेत्रमा सुधारका लागि छोटो र दीर्घकालीन योजना अघि सारेको छ।

भिजिट भिसा प्रक्रियामा बढ्दो विकृति र अनियमितताले सदनदेखि सडकसम्म बहस चर्किंदै आएको छ। सरकारले छानबिन समिति गठन गरी सुधारको पहल थालेको छ भने प्रतिनिधिसभामा उच्चस्तरीय छानबिनको माग राख्दै केही दलहरूले बैठक अबरुद्ध गर्दै आएका छन्।

अध्यागमन विभागले यात्रुहरूको राहदानी, भिसा र कागजातको परीक्षण गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ। यात्रुको चापसँगै विमानस्थलको स्रोतसाधन र प्रविधिमा दबाव बढेको विभागको भनाइ छ। हाल विमानस्थल अध्यागमनमा करिब १५० कर्मचारी कार्यरत छन्।

हालै गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा रामचन्द्र तिवारी र विमानस्थल प्रमुखमा नरहरि अर्याललाई नियुक्त गरेको छ। महानिर्देशक तिवारीले विभागलाई राष्ट्रिय सुरक्षा र सुरक्षित आप्रवासनसँग जोडिएको नीतिगत निकायको रूपमा विकास गर्ने बताएका छन्।

उनले ऐन, नियम र कार्यविधिमा परिमार्जन, प्रविधिमा आधारित सुधार र डिजिटल अध्यागमन प्रणाली निर्माण गर्ने योजना सुनाएका छन्। विभागले राहदानी, वैदेशिक रोजगार, कन्सुलर सेवा र सुरक्षा निकायसँगको डेटा एकीकृत गर्दै सूचना साझेदारी प्रणाली बनाउने तयारी पनि गरेको छ।

भिजिट भिसामा विदेश जाने नेपालीको सङ्ख्या सन् २०२४ मा २ लाख ७१ हजार नाघेको छ। सन् २०२५ को जुलाईसम्ममा मात्र यो सङ्ख्या १ लाख ३४ हजार पुगेको छ। प्रमुख गन्तव्य देशहरूमा यूएई, थाईल्याण्ड, ओमान, कतार र मलेसिया परेका छन्।

सन् २०२१ मा १४.४ प्रतिशत रहेको महिला यात्रुको हिस्सा सन् २०२४ मा ४२.१ प्रतिशत पुगेको छ। यूएई, थाईल्याण्ड, ओमान र कुवेतमा पुरुषभन्दा बढी महिला यात्रु पुगेको अध्यागमन तथ्याङ्कले देखाएको छ।

सरल र छिटो देखिने भिजिट भिसाको प्रक्रियामार्फत रोजगारीको नाममा सर्वसाधारण दलालको लहलहैमा परेर ठगिँदै आएका छन्। श्रम स्वीकृतिको झन्झट, ढिलाइ, लागत, र प्रतिबन्धलाई छल्न खोज्ने प्रवृत्तिले भिजिट भिसा लोकप्रिय भएको हो।


विभागले यस्तो अवस्थाको दीर्घकालीन समाधानका लागि प्रविधिमैत्री, पारदर्शी र जवाफदेही प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ। प्रमुख अधिकारी घिमिरेले अध्यागमन सुधार राष्ट्रको गरिमासँग जोडिएको विषय भएको उल्लेख गर्दै सबै पक्षको सहकार्य आवश्यक भएको बताए।