काठमाडौं— सिराहा जिल्लाका दुई परिवार राजधानीको माइतीघर मण्डलामा विगत ८ दिनदेखि धर्नामा बसेका छन्। ‘मिटर ब्याज’ को शोषणबाट पीडित बनेका यी परिवारहरू न्यायको खोजीमा बालबालिकासहित काठमाडौं आइपुगेका हुन्।

लहान नगरपालिका–७ का श्याम काश्याम विश्वकर्मा र लहान–३ की सीता कुमारी मण्डलको परिवारले सामान्य आवश्यकताका लागि स्थानीय साहुसँग लिएको सानो ऋण अहिले डरलाग्दो बोझ बनेपछि सडकमा धर्ना दिन बाध्य भएका हुन्।

श्याम विश्वकर्माका अनुसार उनले ५ लाख रुपैयाँ ऋण लिएका थिए। तर अहिलेसम्म २१ लाख रुपैयाँ तिर्दा पनि साहुले अझै ५० लाख रुपैयाँ बाँकी रहेको भन्दै दबाब दिइरहेका छन्। उता, सीता मण्डलले ५ लाख लिएको ऋणमा ९ लाख फिर्ता गरिसकेकी छिन्, तर साहुले अझै १२ लाख ७० हजार बाँकी दाबी गर्दै घरको लालपुर्जा कब्जा लिएको गुनासो गरेकी छन्।

पीडितका भनाइ अनुसार, उनीहरूले ‘मीटर ब्याज पीडित संघर्ष समिति’ मार्फत आफ्ना पीडा जिम्मेवार निकायहरूसमक्ष राखिसकेका छन्। तर सुनुवाइ नभएपछि अन्ततः राजधानी आइपुगी धर्नामा बस्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।

दुई दिनदेखि आफ्ना नाबालक सन्तानहरूलाई साथमै लिएर सडकमा धर्ना दिइरहेका पीडितहरूले प्लेकार्डमार्फत भावनात्मक सन्देश प्रवाह गरिरहेका छन् “मेरो बुवा–आमाले जति चाँडो न्याय पाउनुहुन्छ, म त्यति छिटो घर र स्कुल जान सक्छु।”

तर दुःखको कुरा, आठ दिन बितिसक्दा पनि सरकारी पक्षबाट कुनै प्रतिक्रिया आएको छैन। पीडितहरूले राज्यसँग मिटर ब्याजको अन्यायपूर्ण चक्रव्यूहबाट तत्काल मुक्ति दिन र आफूहरूले भोगिरहेको अत्याचारको उचित सुनुवाइ गर्न आग्रह गरेका छन्।