काठमाडौं –  नेपाल प्रहरीको साइबर व्युरो कार्यालय रहेको भोटाहिटीस्थित भवनमा काठमाडौं महानगरपालिकाको वडा कार्यालय राख्नका लागि मेयर बालेन्द्र साह (बालेन) ले माग गरेका छन् । त्यसको बदलामा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी जमिनमध्ये पाँच रोपनी प्रहरीकै स्वामीत्वमा रहने गरी दिन उनी तयार भएका छन् ।


प्रहरी महानिरीक्षक दीपक थापासहितको प्रहरी टोलीसँग मंगलबार भएको भेटका क्रममा बालेनले भोटाहिटीको भवन मागेका हुन् । प्रहरी टोली भने महानगरको स्वामीत्वमा रहेको रामशाहपथस्थित घोडा तवेलाको जमिनमा रहेको ट्राफिक कार्यालयको जमिनको स्वामीत्व माग गर्न बालेनलाई भेट्न पुगेको थियो ।


सात रोपनी क्षेत्रफल रहेको उक्त जमिनमध्ये पाँच रोपनी दिन बालेन तयार भए । तर, भोटाहिटीस्थित साइबर व्युरोमा वडा कार्यालय राख्ने र साइबर तथा मानव बेचबिखन नियन्त्रण व्युरोको कार्यालय राख्नका निम्ति महानगरले अर्को जमिन व्यवस्था गरिदिने बचन उनले दिएका छन् ।


भेटघाटमा सहभागी एक प्रहरी अधिकृतका अनुसार हनुमानढोका दरबारको सौन्दर्यीकरणका निम्ति त्यहाँ रहेको पुरानो जिल्ला प्रहरी कार्यालय भत्काउने सहमति भएको छ ।


भोटाहिटीमा रहेको साइबर व्युरो कार्यालय भवन गृह मन्त्रालयअन्तर्गतको समरजंग गणको स्वामीत्वमा छ । त्यसैले प्रहरी आफैँले सहमति दिएर उक्त ठाउँ अरुलाई दिन नसकिने, त्यसका निम्ति गृह मन्त्रालयमार्फत सहजीकरण गरिने जवाफ महानिरीक्षक थापाले दिएका छन् ।


प्रहरीले टेकुमा निर्माण गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयको भवनमै मानव बेचबिखन, साइबर र लागु औषध नियन्त्रण व्युरोका कार्यालय सञ्चालन गर्न पुग्ने क्षमता छ । प्रहरीले स्थापना गर्न लागेको आर्थिक अपराध अनुसन्धान कार्यालयका निम्ति पनि अलग्गै भवन आवश्यक रहेको विषयमा छलफल भएको सहभागी अधिकृतले बताए ।


काठमाडौं महामनगरको वडा नं। ३ को स्वामित्वमा रहेको बाँसबारीस्थित जमिनमा केन्द्रीय अनुसन्धान व्युरोको कार्यालय राख्ने गरी प्रहरीले माग गरेको थियो । तर, वडा कार्यालयले स्थानीयवासीले सहमति नदिएको नाममा उक्त जमिन दिन आनाकानी गरेको विषयमा पनि उक्त भेटमा चर्चा भएको थियो ।