बर्दघाट– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड बिहीवार बिहानदेखि पुनः अवरुद्ध भएको छ । पानी परेर राजमार्ग चिप्लो भएपछि दाउन्नेको उकालोमा गाडीहरु गुड्न नसक्दा समस्या भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार हल्का पानी पर्ने बित्तिकै राजमार्ग चिप्लिए गाडी गुड्न सकेका छैनन्, कहिले बिच बाटोमा गाडी बिग्रेर समस्या हुने गरेको छ, कहिले पहिरोले अवरुद्ध राजमार्ग अवरुद्ध भैरहेको छ । कतिबेला के भएर बाटो अवरुद्ध हुन्छ, भन्नै नसकिने भएको छ ।

दाउन्ने ठिकखण्ड अवरोध भएपछि सवारी आवागमनमा समस्या भएको तथा ममर्त गरेर सडक खुलाउने प्रयास भईरहेको नारायणघाट–बुटबल सडक आयोजनाले जनाएको छ ।

गत आइतवार रातिदेखि नै अवरुद्ध हुन थालेको यो सडक बुधवा केही सहज भएर गाडी चले पनि बिहीवार पुनः समस्या भएको प्रहरीको भनाइ छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड केन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि त्यहाँ सडक ढलान तथा कालो पत्रे हुन नसक्दा सामान्य पानी पर्दा पनि समस्या हुने गरेको हो ।