विराटनगर –  हराएको एक सातापछि मोरङको केराबारी घर भएका एक पुरुषको शव खोलामा भेटिएको छ ।  केराबारी गाउँपालिका–२ का ३६ वर्षीय वीरबहादुर लिम्बूको शव स्थानीय समेवा खोलामा भेटिएको प्रहरीले जनाएको छ । 


बुधबार साँझ शव फेला परेका लिम्बू गत असार १३ गतेदेखि बेपत्ता थिए । परिवारका सदस्यले खोजीका लागि इलाका प्रहरी कार्यालय केराबारीमा निवेदनसमेत दिए । आफन्त र प्रहरीले खोजी जारी राखेका बेला खोलामा शव भेटिएको हो । 


इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । लिम्बूको मृत्युको कारण खुल्न सकेको छैन । 


घटनाको वास्तविकता पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।