फिल्म ‘३६ को आँकडा’मा अभिनय गर्नका लागि नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन् । निरुता मुम्बईबाट आइतबार राती नेपाल आएकी हुन्।
नेपाल आइपुगेकी निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू अत्यन्तै उत्साहित रहेको बताइन् । उनले भनिन्–‘अब म कही पनि जाँदिन । म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बीचमा मलाई कोरोना भयो । त्यसकारण, मैले फिल्ममा काम गर्न पाइँन । अब भने म कही पनि जान्नँ ।’
लामो समयदेखि नेपाल भन्दा बाहिर मुम्बई बस्दै आएकी निरुताले आफू नेपाली फिल्म भन्दा टाढा बस्न नसक्ने स्पष्ट पारिन् । बीचमा केही फिल्मबाट अफर आएपनि विभिन्न कुराहरू नमिलेर काम गर्न नपाएको उनले बताइन्।
निर्देशक सविर श्रेष्ठले यो चलचित्र निर्देशन गर्ने छन्। निर्देशक श्रेष्ठले निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने सुनाए । निरुतालाई फिल्ममा लिनुको कारणबारे सविर भन्छन्–‘मैले सहायक निर्देशकको रुपमा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ । तर, निर्देशक भएपछि काम गर्न पाएको थिइनँ । कुनै कुनै भूमिकामा विशेष कोही कलाकारको मात्र आवश्यकता पर्ने रहेछ । यो फिल्ममा पनि निरुता दिदी नै चाहिने भूमिका छ । यसैले, उहाँलाई हामीले आग्रह गरेका हौं ।’
यो फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारहरुको पनि अभिनय छ । नायिका रेखा थापा र निरुता सिंहले फिल्म ‘दुई पल’ पछि एकसाथ पर्दा शेयर गरेका छैनन् । अब भने यी दुई स्टार नायिकाले एकसाथ काम गर्दैछन् ।
नायिका सिंहले फिल्म ‘दाल भात तरकारी’पछि नयाँ फिल्ममा काम गरेकी छैनन् । अब भने उनी आजबाट छायांकनमा जान लागेको फिल्म ‘३६ को आँकडा’मा काम गर्न तयारी भएकी छिन् ।