काठमाडौं / रसुवाको भोटेकोशी बाढीले देशलाई संकटमा पारेपछि प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठकमार्फत भारत र चीनसँग औपचारिक रूपमा सहयोगको आग्रह गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालतर्फ हात बढाएका छन्।
प्रधानमन्त्री शाहसँग टेलिफोन संवाद गर्दै मोदीले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले कठिन अवस्थामा भारत नेपालसँगै रहेको र सम्भव सबै मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन्। बालेन सरकारले पहिलोपटक संकटको घडीमा छिमेकी मुलुकसँग औपचारिक रूपमा सहयोग माग्दै भारत र चीन दुवैतर्फ सहकार्यको ढोका खोलेको थियो।
त्यसलगत्तै दिल्लीबाट आएको मोदीको फोनलाई दुई देशबीचको सम्बन्धलाई व्यावहारिक सहकार्यतर्फ अघि बढाउने संकेतका रूपमा समेत हेरिएको छ। मोदीले सामाजिक सञ्जालमार्फत पनि नेपालमा आएको बाढीप्रति दुःख व्यक्त गर्दै भारतले उद्धार तथा राहतका लागि सम्भव सबै मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। यसअघि भारतसँगको सम्बन्ध सम्हाल्न नसकेको भन्दै बालेन सरकारमाथि राजनीतिक टिप्पणी भइरहेका बेला विपद्को यही घटनाले भने काठमाडौं–दिल्ली संवादको नयाँ ढोका खोलेको छ।
अब यो सहकार्य राहत सामग्री र उद्धारमा मात्र सीमित हुन्छ कि विपद् व्यवस्थापन, पूर्वसूचना, सीमापार नदी तथा दीर्घकालीन द्विपक्षीय सम्बन्धमा समेत नयाँ अध्याय सुरु हुन्छ, त्यो आगामी दिनमा देखिनेछ। रसुवाको बाढीले ठूलो क्षति पुर्याएको छ। तर संकटका बीच बालेन सरकारले भारत र चीनसँग सहयोग मागेर अघि बढाएको कूटनीतिक पहलले एउटा अवसर पनि दिएको छ—
विपद्को राहतसँगै छिमेकीसँगको सम्बन्ध सुधार्ने।






































