काठमाडौं / रसुवाको भोटेकोशीदेखि त्रिशूली करिडोरसम्म आएको विनाशकारी बाढीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने दर्जनौँ नागरिक अझै सम्पर्कविहीन छन्।
बाढीले घरबस्ती, सडक, पुल, सुरक्षा पोस्ट, भन्सार र जलविद्युत् संरचनामा ठूलो क्षति पुर्याएपछि विपद् व्यवस्थापनको तयारीमाथि गम्भीर प्रश्न उठेको छ। सबैभन्दा ठूलो प्रश्न—जोखिमबारे पूर्वसूचना हुँदाहुँदै राज्यले त्यसअनुसार पूर्वतयारी किन गरेन ? जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मंगलबार नै विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन सूचना जारी गरेको थियो।
विभागले बाढीको जोखिम भएका नदी आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको थियो। तर बुधबार बिहान सीमापारिबाट आएको आकस्मिक ठूलो बहावले भोटेकोशी क्षेत्रमा एकैपटक विनाश मच्चायो। टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा घर, सडक, पुल र सुरक्षा संरचना बग्दा सुरक्षाकर्मीसमेत ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्।
यहाँ एउटा तथ्य छुट्याउन जरुरी छ—मंगलबार जारी भएको प्रत्येक पूर्वसूचनाले बुधबार बिहान तिब्बततर्फबाट आएको यही आकस्मिक बाढीको प्रत्यक्ष पूर्वानुमान गरेको थियो भन्ने निष्कर्ष निकाल्न मिल्दैन। तर जोखिमको सूचना पाएपछि सम्भावित प्रभावित क्षेत्रको सुरक्षा तयारी, सुरक्षा पोस्टको जोखिम मूल्यांकन र उद्धार संयन्त्र तयारीमा थियो कि थिएन भन्ने प्रश्न भने गम्भीर रूपमा उठेको छ।
बाढीपछि सरकारले सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुनेको संख्या २२ पुगेको छ। तर प्रभावित क्षेत्रको सञ्चार तथा सडक सम्पर्क टुटेकाले अझै दर्जनौँ मानिस सम्पर्कविहीन रहेको र वास्तविक मानवीय क्षतिको पूर्ण विवरण आउन बाँकी छ। भोटेकोशीको भेलले सुरक्षाकर्मीलाई समेत छोडेन। सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका दर्जनौँ जनाको अवस्थाबारे तत्काल जानकारी प्राप्त हुन नसक्दा उद्धार टोलीकै लागि खोजी चुनौती बनेको छ।
अब प्रश्न राहत बाँड्ने मात्र होइन—
पूर्वसूचना कसले पायो ?
कुन निकायलाई कहिले जानकारी गराइयो ?
जोखिम क्षेत्रका नागरिक र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सार्ने निर्णय किन भएन ?
पूर्वसूचनापछि स्थानीय प्रशासन र सुरक्षा निकायले के–कस्तो तयारी गरेका थिए ?
यी प्रश्नको जवाफ नखोजी विपद्लाई केवल ‘अप्रत्याशित प्राकृतिक घटना’ भनेर पन्छाउन मिल्दैन। प्रकृतिको भेल रोक्न सरकारको हात नहुन सक्छ। तर पूर्वसूचना पाएपछि जोखिम घटाउने तयारी गर्ने जिम्मेवारी राज्यकै हो। आज बाढीको पानी घट्दै जाला। सडक र पुल पुनर्निर्माण होलान्।
तर पूर्वसूचना हुँदाहुँदै पनि २२ जनाको ज्यान किन गयो र अझै कति नागरिक बेपत्ता छन् भन्ने प्रश्नको जवाफ नआएसम्म भोटेकोशीको विपद् कथा पूरा हुने छैन।






































