काठमाडौं— नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ सञ्चालित दुसित थानी हिमालयन रिसोर्टले सर्वसाधारणका लागि आफ्नो प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ।
आज भएको एक समारोहमा दुवै कम्पनीबीच यो महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) का प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन।
सन् २०२३ को चौथो त्रैमासिकबाट सञ्चालनमा आएको यो रिसोर्ट काभ्रेपलाञ्चोकको धुलिखेलमा अवस्थित छ। थाइल्यान्डको प्रख्यात होटल चेन दुसित इन्टरनेसनलको एउटा लक्जरी रिसोर्टको रूपमा यसलाई चिनिन्छ। यहाँबाट हिमालय र उपत्यकाका मनमोहक दृश्यहरूको आनन्द लिन सकिन्छ।
यो रिसोर्टलाई ‘उच्च मूल्यको एकीकृत रिसोर्ट’ को रूपमा स्थापित गरिएको छ, जसले नेपालको पर्यटन उद्योगमा ‘उच्च मूल्यको पर्यटन’ को लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
दुसित इन्टरनेसनलले नेपालसहित विश्वका १८ वटा देशमा आफ्नो आतिथ्य सेवा प्रदान गर्दै आएको छ। ओमस्टोन होटेल्स लिमिटेडले नेपालमा यसको प्रतिनिधित्व गर्दछ। काठमाडौंबाट करिब ३८ किलोमिटरको दूरीमा रहेको यो रिसोर्ट शान्त र रमणीय वातावरणका कारण विभिन्न गोष्ठी तथा सम्मेलनहरूको लागि पनि लोकप्रिय गन्तव्य बनेको छ।