जेनजीको दुई दिने आन्दोलनले सत्ता ढालेपछि सबै दलका शीर्ष नेता भूमिगत भएका छन् । कामचलाउ प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सम्पर्कविहीन छन् ।
एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने श्रीमती रविलक्ष्मी चित्रकारको उपचारमा छन् । आन्दोलनकारीले घरमै आगो लगाइदिएपछि जलेर घाइते भएकी उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ । नेता खनाल पनि अहिले अस्पतालमै छन् । उनी श्रीमतीको स्याहारसुसारमा खटिएका छन् । खनाल सकुशल रहेको बुझिएको छ ।
प्रधानमन्त्री ओली मंगलबार नै सेनाको हेलिकोप्टरबाट कहाँ गए भन्ने अझै खुलेको छैन । तर उनलाई शिवपुरीस्थित सेनाको तालिम केन्द्रमा राखिएको बुझिएको छ । उनी श्रीमती राधिका शाक्य र सहयोगीसहित गएका छन् ।
कांग्रेस सभापति देउवा दम्पती आन्दोलनकारीबाट कुटपिटमा परेका एक मात्र शीर्ष नेता हुन् । दुवैलाई सेनाले उद्धार गरेर सुरक्षित स्थानमा उपचार गराउँदै आएको बुझिएको छ । आन्दोलनकारीको कुटाइबाट देउवा र उनकी पत्नी आरजु राणा देउवा घाइते भएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड मंगलबार बिहानैदेखि सम्पर्क बाहिर छन् । उनको खुमलटारस्थित निवास र भरतपुरमा रहेको घर दुवै आन्दोलनकारीले जलाइदिएका छन् । माओवादीका सीमित नेताबाहेक प्रचण्ड कहाँ छन् भन्ने कसैलाई जानकारी छैन ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालसमेत सम्पर्कविहीन बनेका छन् । कोटेश्वरस्थित उनको निवास पनि जेनजीले जलाइदिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने आफ्नै निवासमा रहेको र उनी नेता कार्यकर्तासँग भेटघाटमा छन् । जेनजीको आन्दोलनमा राप्रपाका कुनै नेता र तिनका घर टार्गेटमा परेनन् । राप्रपाले घोषित रूपमै नेता कार्यकर्तालाई प्रदर्शनमा उतारेका थिए ।
रास्वपा त अहिलेको आन्दोलनको लिड गर्नेमै पर्छ । उसका सबै नेता आन्दोलनमा सरिक थिए । उनीहरूकै निर्देशनमा कांग्रेस, एमालेका नेताका घरघर छानीछानी जलाइएको आरोप लागेको छ । सहकारी ठगीमा नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई नेता कार्यकर्ताले बाहिर निकालेका थिए । अहिले उनी घरमै छन् ।