काठमाडौं— नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्पूर्ण सरकारी कार्यालयमा आगजनी गर्दा रेकर्ड, प्रमाण र फाइलहरु नष्ट भई शुन्यमा पुगेको बताएकी छिन् । 

आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भौतिक भवनको क्षती भन्दा विवरणहरु जलेर नष्ट हुँदा मुलुक शुन्यमा पुगेको बताएकी हुन् । 

उनले भनिन्, ‘हाम्रो रेकर्डहरु, प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भएर हामीलाई अर्को ठुलो समस्या भौतिक भवनको क्षतीले त केही हुदैन रहेछ त्यो त बनाउन पनि सकिन्छ तर ती रेकर्डहरु, जमानाका फाइलहरु ती विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौ ।’

उनले सत्ता र पदको लोभ नरहेको भन्दै ६ महिना अवधी मात्र सत्तामा बसी आफ्नो काम गरी नयाँ आउने संसद र मन्त्रीहरुलाई जिम्मेवारी सुम्पिने बताइन् । 

‘जहाँसम्म मेरो टिम छ, टिमले जुन काम गरिरहेको छ हामी कुनै सत्ताको, यो पदको रसस्वाद गर्न आएका होइनौं र मेरो उमेर पनि हैन । ६ महिना अवधी मात्र बस्ने त्यो भन्दा बढी नबस्ने गरी आफ्नो काम कारर्वाही गरेर जिम्मेवारी मुक्त हुने र नयाँ आउने संसद र मन्त्रीहरुलाई जिम्मेवारी दायित्व सुम्पिने हामीले अठोट गरेका छौ,’ उनले भनिन्, ‘जुन परिस्थितीमा म आए कुनै रहरले म आएको हैन । सडकबाट, जताततैबाट सुशीला कार्कीलाई जिम्मा देउ भनेर आवाज उठ्यो ।’