काठमाडौं— जेनजी आन्दोलनको दोस्रो दिन भएको लुटपाटको क्रममा सडकमा भेटिएको ठूलो रकम एक सचेत नागरिकले प्रहरीको जिम्मा लगाएका छन्।
ललितपुर महानगरपालिका–११ निवासी ३७ वर्षीय सुरेश देउलाले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा भएको लुटपाटपश्चात बाटोमा फालिएको अवस्थामा भेटिएको रकम प्रहरीमा बुझाएका हुन्। देउलाले ५०० रुपैयाँ दरका नयाँ नोटमा रहेको ५ लाख रुपैयाँ र थप १० हजार ५०० रुपैयाँ खुद्रा रकम जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको प्रहरी स्रोतले जानकारी दिएको छ।
भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र लुटपाटका घटना भएका थिए। आन्दोलनको दोस्रो दिन देउलाले भेटाएको उक्त रकम जिम्मेवार नागरिकको हैसियतले सम्बन्धित निकायलाई बुझाउनु सराहनीय कदम मानिएको छ।