काठमाडौं— पुँजी बजारमा सुधार ल्याई लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरेका छन्। कार्यदलले बजारमा आवश्यक प्रणालीगत र प्रक्रियागत सुधारका बारेमा सुझावसहित कार्ययोजना तयार पार्नेछ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक (कायममुकायम) रुपेश केसी कार्यदलको संयोजक रहेका छन्। अन्य सदस्यहरूमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी निर्देशक (कायममुकायम) निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन्।
कार्यदलले आम लगानीकर्ताको मनोबल अभिवृद्धिका लागि आवश्यक सुधार उपायहरू पहिचान गरी पाँच दिनभित्र अर्थमन्त्री समक्ष प्रतिवेदन बुझाउनु पर्नेछ। सुझावहरूमा सुधारका दिशा, रणनीति तथा कार्यान्वयन योजना समेटिने जनाइएको छ।