भक्तपुर । दशैँको लागि भनेर भक्तपुरको महेश्वरी खेल मैदानमा राँगाको व्यापार सुरु भएको छ । हरेक वर्ष दशैँ विशेषका रुपमा राँगाको व्यापार हुने गरेको छ ।
नेवार समुदायले राँगाको मासु अत्याधिक प्रयोग गर्ने भएकाले पनि दशैँको लागि भनेर विभिन्न जिल्लाबाट राँगा भक्तपुर भित्र्याएका हुन् । दशैंलाई लक्षित गर्दै भक्तपुरको महेश्वरी चौरमा दशैँको लागि भनेर सस्तो व्यापार मेला पनि लाग्ने गरेको छ ।
राँगा व्यापारी दिपक बुढाथोकीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा रामेछाप मन्थलीबाट दशैँको लागि भनेर ३५ वटा राँगा ल्याएको बताए ।
उनले ४० लाख लगानीमा ल्याएका राँगाहरु एउटाको ९० हजारदेखि एक लाख रुपैंयाँभन्दा बढिमा विक्री गर्ने गरेको भन्दै लगानी उठेर नाफा समेत हुने अपेक्षा गरेको बताए ।
उनले भने, ‘रामेछाप मन्थलीबाट दोस्रो भक्तपुर दशैँ सस्तो व्यापार मेला २०८२ मा दशैँको बेला राँगा बेच्न आएको हुँ । ३५ वटा जति राँगा ल्याएको छु । हरेक दशैँमा राँगाहरु लिएर आउँछु । एउटा राँगाको ९० हजारदेखि एक लाख रुपैंयाँसम्म विक्री हुन्छ । यहाँ व्यापार सुरु भइसकेको छ । ४० लाख लगानीमा राँगाहरु ल्याएको हुँ लगानी सबै उठाउने अपेक्षा छ । अघिल्लो वर्षहरुमा पनि नाफामा नै व्यापार गरेको हो ।’
उनका अनुसार यसपाली झन् बढी व्यापार बढ्ने आशा गरिएको छ ।
साथै, सस्तो व्यापार मेलामा ५० भन्दा बढी स्टल रहने छ । मेलामा लुगा, जुत्ता, खाद्यान्न, अटोमोबाइल, हस्तकला सामग्री, कृषि उपकरण लगायत दैनिक उपभोग्य वस्तुहरूमा विशेष छुटको व्यवस्था गरिनेछ ।
मेलामा बालउद्यान, रोटे पिङ, ड्रागन राइड, मिकी माउस जस्ता रमाइला खेलकुदका साथै राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याती प्राप्त कलाकारहरूका हास्यव्यङ्ग्य र सांगीतिक प्रस्तुति हरेक दिन रहनेछन् ।
मेलाका विद्यार्थीका लागि रु ५० र सर्वसाधारणका लागि रु ७० को प्रवेश शुल्क तोकिएको छ । त्यसैगरी जेष्ठ नागरिकहरूका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।