काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ भोटेकोसी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रको स्थलगत निरीक्षणमा निस्किएका छन्।
मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा क्षतिको अवस्थाबारे जानकारी लिनुका साथै विद्युत् सेवा अवरुद्ध भएका स्थानमा वैकल्पिक ऊर्जा व्यवस्थापनबारे छलफल गर्ने कार्यक्रम रहेको छ। निरीक्षणका क्रममा उनी त्रिशूलीस्थित उद्धार क्याम्प र रसुवाका जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा पुगेर उद्धार कार्यको प्रगति, चुनौती तथा आयोजनामा भएको क्षतिबारे जानकारी लिनेछन्।
त्यसपछि नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविरको अवलोकन गर्दै सुरुङमा फसेका कर्मचारीका परिवारसँग भेटघाट गर्ने तथा नेपाल विद्युत् प्राधिकरणको टोलीसँग आवश्यक समन्वय र निर्देशन दिने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ।






































