काठमाडौं / इलामको माइखोला–राजदुवाली सडकखण्ड ५१ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय इलामले सोमबारदेखि पहिलो चरणमा साना तथा हलुका सवारीसाधन चल्न अनुमति दिएको हो।लगातारको वर्षाका कारण असार २५ गतेदेखि सडक भासिएर यातायात पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि असार २९ गतेदेखि मोटरसाइकलसहित सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको थियो।
सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङको झापा तथा तराईसँगको यातायात सम्पर्क प्रभावित भएको थियो भने यात्रु, बिरामी, व्यवसायी र दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या परेको थियो। सडक डिभिजन कार्यालयले मर्मतपछि हाललाई जोखिमलाई मध्यनजर गर्दै साना सवारी मात्र सञ्चालनमा ल्याएको जनाएको छ।
बाँकी मर्मत कार्य जारी रहेकाले ठूलो सवारी सञ्चालनबारे पछि निर्णय गरिने बताइएको छ।






































