काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले जेन–जी आन्दोलनले उठाएका मागहरू पूरा नगरीकन प्रतिनिधिसभा पुनःस्थापना गर्न नहुने अडान राखेका छन्। उनले यो धारणा आज सभामुख देवराज घिमिरे सँगको छलफलका क्रममा व्यक्त गरेका हुन्।

प्रवक्ता शाहीले राप्रपाले सभामुखसँग जेन–जीका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता नभएसम्म संसद पुनःस्थापना गर्नु हुँदैन भनेर स्पष्ट धारणा राखेको बताए। जेन–जीका मुख्य मागहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज र गैरदलीय स्थानीय तह रहेको उनको भनाइ छ।

उनले संसद पुनःस्थापना गर्दा यी मागहरू संसदबाट पारित गर्ने प्रतिबद्धता भएमात्रै पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए।

यसका साथै, देशमा भ्रष्टाचार व्याप्त रहेको र त्यसलाई नियन्त्रण गर्न संविधानका केही धाराहरू बाधक रहेकाले ती धाराहरूलाई परिमार्जन गर्ने प्रतिबद्धता पनि आवश्यक रहेको उनले बताए। साथै, उनले नेपालको संविधानमा १८ वर्ष उमेर पूरा गरेको व्यक्तिले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने उमेरहदबन्दी हटाउनुपर्ने माग पनि राखेका छन्।