जनकपुर । जनकपुरधाममा जारी जसपा नेपाल मधेस प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन प्रकृया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ ।
जनकपुरधाममा आज पत्रकारसम्मेलन गर्दै नेतृत्व चयनकालागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रकृया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गरेका छन् ।
यादवसँगै उनको प्यानलबाट उम्मेदवार रहेकाहरुले समेत निर्वाचन प्रकृयाको बहिष्कार गरेका छन् । साथै रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका जिल्ला अध्यक्षहरुले समेत अध्यक्ष पदका उम्मेदवार यादवको समर्थन गर्दै अधिवेशन बहिष्कार गर्ने जनाएका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार यादवले जसपा नेपालको विधानविपरित अधिवेशन भईरहेकोले आफूहरुले अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको बताए ।
उनले अध्यक्ष पदका अर्का उम्मेदवार बालकिशोर यादवले विधान विपरित आफूखुशी हुलका हुल प्रतिनिधि छनौट गरेकाले आफूहरु अधिवेशनमा सहभागी हुने वातावरण नरहेको बताए । आफूहरुलाई बन्दसत्रमा समेत बेवास्ता गरिएको उनको आरोप छ ।
मधेश प्रदेश अधिवेशनमा आज निर्वाचनको सम्पूर्ण कार्यतालीका सार्वजनिक गरिएकोमा अहिले बहिष्कार गरिएको पक्षबाहेक उपस्थित अन्य उम्मेदवार एवम मतदाताहरुको बाँकी प्रक्रिया थालिएको छ । अन्य पदहरुमा उम्मेदवारीको प्रक्रिया समेत अघि बढाइएको छ ।