काठमाडौं— माओवादी केन्द्रसँग सम्भावित पार्टी एकताको चर्चा चुलिँदै गएको बेलामा नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पोलिटब्युरो बैठक बोलाएको छ।
पार्टी प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार, पोलिटब्युरो बैठकपछि कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय कमिटी बैठक पनि बस्नेछ। दुबै बैठक काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेनुमा आयोजना हुनेछन्।
बैठकमा हालैको जेनजी विद्रोहपछिको राजनीतिक परिस्थिति, संभावित पार्टी एकता, र आगामी निर्वाचनमा पार्टीको रणनीति लगायत विषयमा गम्भीर छलफल हुने जनाइएको छ।
नेकपा एस भित्र नेतृत्वको विषयमा दबाब चुलिँदै गएको छ। अध्यक्ष माधवकुमार नेपालमाथि नेतृत्व हस्तान्तरणको माग गर्दै पार्टी भित्रैबाट आवाज उठ्न थालेको छ। तर अध्यक्ष नेपाल भने तिहारपछि माओवादी केन्द्रसहित समाजवादी मोर्चाका अन्य घटकहरूसँग एकताको पक्षमा देखिएका छन्।
नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताहरू माओवादीसँग एकताप्रति सशंकित छन्। उनीहरू पार्टी एकताको सट्टा आन्तरिक पुनर्गठन गरी आगामी निर्वाचनमा सुदृढ तयारी गर्नुपर्ने पक्षमा उभिएका छन्।
यसअघि बिहीबार बसेको स्थायी कमिटी बैठकमा पनि माओवादीसँग एकताको सम्भावना, त्यसका लाभ–हानि र वैकल्पिक रणनीतिहरूको विषयमा छलफल भएको थियो।