काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। आयोगले बजेटको अन्तिम रूप दिने तयारी गरी छिट्टै अर्थ मन्त्रालयमा पठाउने योजना बनाएको हो।
बजेट निर्माणको काम जारी रहेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनका अनुसार, “ करिब साढे सात अर्ब रुपैयाँ खर्च हुने देखिन्छ, तर अन्तिम टुंगो भने बाँकी छ।”
आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्न थालेको छ। छठ पर्व सकिएलगत्तै ती सामग्रीहरू खरिद प्रक्रिया अघि बढाउनुपर्ने आयोगको भनाइ छ। यसका लागि आयोग र अर्थ मन्त्रालयबीच छलफल भइरहेको छ। पहिलेका निर्वाचनमा प्रयोग भएका सामग्रीहरू पनि पुनः प्रयोग गर्ने र आवश्यक परे थप खरिद गर्ने तयारी गरिएको छ।
आयोगले बजेटमा केही हिस्सा आकस्मिक व्यवस्थापन शीर्षकमा राख्ने योजना बनाएको छ। विशेष गरी हिमाली क्षेत्रमा कर्मचारी र सामग्री ढुवानीका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसका लागि बजेट विनियोजन गर्न लागिएको हो। प्रतिकूल मौसमका कारण कठिनाइ हुन सक्ने अनुमान गर्दै आयोगले मौसम अनुकूल भएको समयमा हेलिकप्टरमार्फत कर्मचारी र सामग्री पठाउने तयारी गरेको छ।
त्यस्तै, आयोगले यसपालि पनि प्रति एक हजार मतदाता बराबर एक मतदान केन्द्र स्थापना गर्ने तयारी गरेको छ। अघिल्ला निर्वाचनहरूमा पनि यस्तै व्यवस्था लागू गरिएको थियो। एक मतदान केन्द्र सञ्चालनका लागि कम्तीमा १४ जना कर्मचारी आवश्यक पर्ने आयोगको भनाइ छ। मतगणनाका लागि थप कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले सबैभन्दा धेरै खर्च जनशक्तिमै हुने आयोगको अनुमान छ।




































