काठमाडौं— उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गर्न सकोस् भनी कामना व्यक्त गरेका छन् ।
उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक उल्लेख गर्दै नहाय–खाय, खरना, अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्मक भएको उल्लेख गरेका छन् । छठ पर्वले खराब आचरण, व्यवहार र विचार त्याग्न प्रेरित गर्ने उनको विश्वास छ ।
छठ महापर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले छठ पर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस् भन्ने कामना गरेका छन् ।
उनले यो पर्वले मुलुकलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गर्नेमा विश्वास समेत व्यक्त गरेका छन् ।






































