काठमाडौं— जेनजी प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौं उपत्यकाबाहिरको क्षतिको विवरण संकलन कार्य सुरु गरेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलगायतको टोलीले काठमाडौं उपत्यका बाहिरको क्षतिको विवरण संकलन कार्य सुरु गरेको हो । आयोगले क्षतिको विवरण पठाउन यसअघि नै आग्रह गरे पनि प्रत्यक्ष अवलोकन गरेर विवरण संकलन कार्य सुरु गरेको आयोगका अध्यक्ष कार्कीले बताए ।
रौतहट, बारा र पर्सामा जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको वस्तुस्थिति बुझ्न अध्यक्ष कार्कीले जिम्मा लिएका छन् । सो क्रममा उनी आज वीरगंज पुगेका छन् ।
आयोगका अध्यक्ष कार्कीले बाह्रखरीसित भने, “हामीले क्षतिको विवरण पठाउन यसअघि नै आग्रह गरिसकेका छौँ । तर, पनि अपेक्षित विवरण आएको छैन । प्रत्यक्ष वस्तुस्थिति बुझ्न हामी आफैँ निस्केका छौँ ।”
आयोगका अध्यक्ष कार्कीले जेनजी प्रदर्शनका कारण सुरक्षा निकायको आत्मबल खस्केको बताए । “प्रहरी, आर्मीको आत्मबल निक्कै खस्केको पायौँ,” उनले भने, “अब राजनीतिक दलसहित जेनजीलाई पनि समेटेर वीरगंजमा अन्तरक्रिया हुँदै छ । त्यसमा हामी छलफल गर्नेछौँ । अनि अझ बढी सशक्त ढंगले काम गर्न सकिएला ।”
देशैभर भएको घटनाको छानबिन गर्न बनेको आयोगका सदस्यद्वय पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी पनि काठमाडौं उपत्यका बाहिर खटिएका छन् ।
आयोगले कोसी प्रदेशको झापा, सुनसरी र मोरङमा भएका घटनाको प्रत्यक्ष अवलोकन गरेर जानकारी लिइसकेको छ । असोज ५ गते गठित आयोगलाई प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।






































