काठमाडौं— प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ सुरु भएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्माको सहभागितामा गठित संवैधानिक इजलासले सुनुवाइ प्रारम्भ गरेको हो।
सर्वोच्च अदालतको एनेक्स भवनस्थित इजलासमा रिट निवेदक डा. प्रेमराज सिलवालले प्रारम्भिक बहस सुरु गरेका छन्। त्यस्तै वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई र शेरबहादुर केसी पनि सुनुवाइमा सहभागी भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए। सो निर्णयविरुद्ध कुल १६ वटा रिट निवेदन सर्वोच्च अदालतमा दायर भएका छन्। रिट निवेदकहरूले प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन दुवै निर्णय असंवैधानिक रहेको भन्दै प्रतिनिधिसभा पुनःस्थापनाका लागि परमादेश माग गरेका छन्।
रिट निवेदन पेस गर्नेहरूमा अधिवक्ता डा। प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, दलबहादुर धामी, प्रकाश भुजेल, विपिन ढकाल, आभाष पोखरेल, ओमप्रकाशजङ्ग शाह, विमल पोखरेल, डा। पुण्यप्रसाद खतिवडा र अधिवक्ता शेरबहादुर रोकाया रहेका छन्।






































