काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्रको एकता र आत्मविश्वास सुदृढ गर्न आग्रह गरेका छन् । वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक विषयमा केन्द्रित’ कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका मतभेदलाई छोडेर एकताको आवश्यकता रहेको बताए । 

उनले अहिले देश गम्भीर संकटमा रहेको र यस्तो अवस्थामा कांग्रेस नेतृत्वले संगठनलाई सशक्त र एकताबद्ध बनाउनुपर्ने बेला आएको बताए । उनले भने, ‘पार्टीको मूल मर्म र भावनालाई बुझेका मान्छेहरू मात्रै सक्रिय सदस्य हुन्छन् । सक्रिय सदस्यहरूले नै पार्टी नेतृत्व गर्छन्, हाम्रो पद्धति त्यही हो । अहिले हाम्रो बहस विशेष महाधिवेशन मंसिरमा भन्ने छ, त्यो नै अचुक औषधि जस्तो हो ।’

महतले संकटको समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप नगरी एकताबद्ध हुन आग्रह  गरे । उनले भने, ‘हामीमा कमीकमजोरी अवश्य छन्, त्यसको हिस्सेदार म पनि हुँ । अहिले हामी एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन ।’

सामाजिक सञ्जालमा फैलिने नकारात्मक टिप्पणी र राजनीतिक अविश्वासको संस्कृतिप्रति पनि उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘राजनीतिमा सबै खत्तम हुन्, सबै बदमास हुन् भन्ने प्रवृत्ति बनेको छ । यस्तो नकारात्मक भाष्य सामाजिक सञ्जालमार्फत जबरजस्ती सम्प्रेषित भइरहेको छ ।’

उनले कांग्रेसभित्र आत्मनिन्दा र आत्मविश्वासको कमी देखिएको बताउँदै थपे, ‘जति कमीकमजोरी छ, त्यो भन्दा बढी आत्मनिन्दा भएको छ । त्यसैले कांग्रेसजनको आत्मबल कमजोर भएको छ । अब सुशासन र सुधारका पक्षमा ठोस रूपमा उभिनु आवश्यक छ ।’

महतले पार्टीले आगामी विशेष महाधिवेशनलाई संगठनात्मक सुधार र एकताको अवसरका रूपमा लिनुपर्ने बताए ।