रोल्पा— थबाङ गाउँपालिका–२ की वडाध्यक्ष अभिलाषा रोका मगरले गाउँपालिकाको उदासीनताप्रति असन्तुष्टि जनाउँदै वडा कार्यालय बन्द गरेर गाउँपालिका कार्यालयलाई साँचो बुझाएकी छन्।
विकास निर्माणका काममा पालिकाले चासो नदेखाएको आरोप लगाउँदै वडाध्यक्ष रोकामगरले यस्तो कदम चालेकी हुन्। उनीका अनुसार लामो समयदेखि अवरुद्ध ग्रामीण सडक सञ्चालनमा नआएको, केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलाइ भइरहेको र समग्र विकास कार्यमा पालिकाले ध्यान नदिएको कारण उनले साँचो बुझाउने निर्णय लिएकी हुन्।
‘गाउँपालिकाको नेतृत्वले समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर कार्यालय बन्द गर्नुपर्यो,’ उनले भनिन्। माग पूरा नभए राजीनामा दिने चेतावनी समेत उनले दिएकी छन्।
यस विषयमा प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष ऋषिकेशव बूढा मगरले आफू कामको सिलसिलामा बाहिर भएकाले घटनाबारे विस्तृत जानकारी नभएको बताए। उनका अनुसार वडाध्यक्ष स्वयं पनि पालिकाको जिम्मेवार अंग भएकाले विकाससम्बन्धी विषयमा जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका छन्।
‘म पालिकामा फर्किएपछि बिहीबार थप छलफल गरेर समाधान खोज्नेछु,’ अध्यक्ष बूढा मगरले भने।






































