काठमाडौं— नेपाल विद्युत्‌ प्राधिकरणले २८३ मेगावाट विद्युत्‌ निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत्‌ मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत्‌ प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत्‌ आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत्‌ निर्यात लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत्‌ भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत्‌ बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत्‌ निर्यात भइरहेको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत्‌ बिक्री गर्न स्वीकृत पाएका चार आयोजनाको नवीकरण भएको हो । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत्‌ आईएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मंगलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृति भएको छ ।

यसैगरी, द्विपक्षीय सम्झौताबमोजिम हरियाणा राज्यलाई चार आयोजनाबाट उत्पादित करिब १८० विद्युत्‌ बिक्री भइरहेको थियो । हरियाणा राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार सकिनेछ । प्राधिकरणले हरेक वर्ष जुन–अक्टुबरमा हरियाणालाई विद्युत्‌ बिक्री गर्छ । प्राधिकरणले हरियाणालाई विद्युत्‌ बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत्‌ आईएक्समा पनि बिक्री अनुमति मागेको थियो । भारतको केन्द्रीय विद्युत्‌ प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब ४ आयोजनाबाट उत्पादित विद्युत्‌ शुक्रबारबाट आईएक्समा समेत निरन्तर रूपमा बिक्री गर्न पाउने भएको छ ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को आठौँ सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले भारतका विद्युत्‌मन्त्री मनोहरलाल खट्ठरसँगका भेटमा विद्युत्‌ निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गरेका थिए । उनले नेपालमा विद्युत्‌ उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृति गरिदिनसमेत आग्रह गरेका थिए ।