काठमाडौं । मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले हालको संविधानका धेरै कुराहरु खारेज गर्नुपर्ने बताएका छन् । 

शनिबार देश बचाउ देश संमृद्व बनाउ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरुको रचनात्मक संवादमा बोल्दै उनले जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘प्रधानमन्त्रीले भनेकोे मैले सुनेको छु–हामी यो संविधानमा दाँयाबाँया गर्दैनौ । तपाई शल्यक्रिया कसरी गर्नुहुन्छ ? प्रौण पुस्ताको भएर भनिरहेको छु, यो संविधानको कयौ कुराहरु खारेज हुनुपर्छ ।’

उनले भ्रष्टाचारको जड नेताहरु मात्र नभई स्थानीय तहका तल्लो निकायसम्म  महामारीको रुपमा फैलिएको बताए । उनले त्यसलाई निर्मूल पार्न उखेल्नलाई जेनजी अर्थात युवा पुस्ताले काम गर्नुपर्ने बताए ।  

‘भ्रष्टाचारको जडको नेताहरुमा मात्र देख्नु भएको छ । नेताहरुलाई कारवाही त गर्नैपर्छ । यसमा विवाद छैन् तर वडादेखि विकास समितिका प्रत्येक क्षेत्रमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ,’  उनले थप भने, ‘यसको जरो उखेल्नलाई शल्यक्रिया जरुरी छ । आजको जेनजी अर्थात युवा पुस्ताले शल्यक्रिया गर्न तयार हो कि हैन, मेरो प्रश्न छ ।’ 

उनले यो संविधानका कयौं दफाहरुले भ्रष्टाचारलाई प्रसय दिएको समेत बताए । 

यस्तै, उक्त कार्यक्रममा बोल्दै डा. भोला रिजालले देशमा परिवर्तन गर्ने एउटा पुस्ताको आशा गरेको अहिले पूरा भएको भन्दै जेनजी पुस्तालाई आभार प्रकट गरे ।