काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढेको छ । यसअघि बिहीबार पनि नेप्से ३४.२२ अंकले बढेको थियो । 

यसअघि बिहीवार २६००.३८ बिन्दुमा रोकिएको नेप्से आज २६३१.१४ बिन्दुमा पुगेर बजार बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स ४.४१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२३ अंकले बढेको छ । यसदिन पसिूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

आज कुल ३१९ स्टकको ६८ हजार १२२ पट्कको कारोबार मार्फत ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ रुपैयाँ बराबरको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर कारोबार भएको छ ।

अघिल्लो कारोबार बिहीवार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयर कारोबार भएको थियो ।

यस दिन पाँच स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन सामूदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यसदिन सामुदायीक लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १३७.१० रुपैयाँले बढेर १५०८.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, गोर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यपनि प्रतिकित्ता ४८ रुपैयाँले बढेर ५२८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, यस दिन गुह्यस्वरी मर्चेन्ट बैंक र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज खानीखोला हाइड्रोपावरको मूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको शेयर मूल्य ४.७६ प्रतिशतले घटेको हो भने एनआइसी एशिया म्युचअल फण्डको  शेयर मूल्य ४.०२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंकको प्रमोटर शेयर सर्वाधिक बढेको छ । सो कम्पनीको शेयर यसदिन १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१७ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन १.१० प्रतिशत घटेको छ ।