काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले जेनजी लक्षित कार्यक्रम तत्काल ल्याउन आग्रह गरेका हुन् ।
उनले भने, ‘हामीले नजरअन्दाज गरेको पुस्ता हाम्रै छोराछोरी हुन्, तर उनीहरू किन हाम्रो सट्टा अरूको कुरा पत्याइरहेका छन् भन्ने आत्ममन्थन गर्न जरुरी छ ।’
शिवाकोटीले जेनजी पुस्ताको असन्तुष्टि पार्टीले गम्भीरतापूर्वक नलिएको भन्दै सचेत गराए । उनले नयाँ पुस्ताको आवाज सुन्ने, प्रतिनिधित्व सुनिश्चित गर्ने र व्यवहारिक कार्यक्रम ल्याउने कांग्रेसको अहिलेको उच्च प्राथमिकताको विषय हुनुपर्ने बताए ।
उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई देशको राजनीतिक चेतका रूपमा व्याख्या गर्दै भने, ‘हामीले नागरिकको आक्रोश बुझ्ने सट्टा अझै पनि गुटगत स्वार्थमा अल्झिरहेका छौँ । समय बलवान हुन्छ, समयको संकेत नबुझे कांग्रेस थप संकटमा पर्न सक्छ ।’
शिवाकोटीले सभापति शेरबहादुर देउवा र आरजु राणा देउवामाथि भएको आक्रमणको निन्दा गर्दै स्वास्थ्यलाभको कामना गरे । साथै, पार्टीमा निर्णय प्रक्रिया लोकतान्त्रिक बनाउने, कार्यकर्ताको आवाज सुन्ने र विशेष महाधिवेशनको माग सम्बोधन गर्न सुझाव दिए ।
उनले भने, ‘५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छन्, त्यसलाई नजरअन्दाज गर्नु विधान विपरीत हुन्छ ।’
शिवाकोटीले नयाँ पुस्ता लक्षित ‘कांग्रेस संवाद अभियान’ ल्याउन र पार्टीको सांगठनिक ढाँचामा ३० वर्षमुनिका युवाको कम्तीमा १५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे ।






































