काठमाडौं— विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई नेपाली काँग्रेसका नेताहरुले सम्मान गरेका छन् । 

इतिहासमा पर्वत जिल्लाको नागरिककोतर्फबाट पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको खुसीयालीमा उनलाई उनकै निवासमा नै पुगी सम्मान गरिएको हो । 

सो सम्मान कार्यक्रमलाई बोल्दै नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले अदम्य सहास बोकेका किरणको सफल आरोहणको प्रशंसा गरे । 

भारतीय सेनामा कार्यरत किरणको आरोहणले पर्वत जिल्लाको मात्रै नाम उच्च नबनेर हरेक नेपाली साहासी हुन्छन भन्ने सन्देश भारतीय सेनामा पनि फैलाएको उनको भनाई छ । 

अर्को प्रसङ्गमा बोल्दै अध्यक्ष गुरुङले नेपालमा हालै भएको जेनजी प्रदर्शनको क्रममा राष्ट्रिय सम्पत्तिहरु जलेकोमा दुःख व्यक्त गरे । 

सम्मान पश्चात आरोही पि.सीले आफूलाई जन्माएको धर्तीप्रति आफू सदैव ऋणी भएको बताए । 

आफ्नो मातृभूमिको शक्तिकै कारण मातृभूमिमै रहेको सर्वोच्च शिखरमा आरोहण गर्न सकेकोमा उनले खुसी व्यक्त गर्दै जन्म ठाउँ र देशको नाम राख्नको लागि आफू सधैँ प्रयत्नशील रहने बताए । 

हाल भारतीय सेनामा कार्यरत रहेका पि.सी.ले गत जेठ १३ गते भारतीय सेनाका तर्फबाट सगरमाथाको सफल आरोहण गरेका थिए । 

२०७४ सालमा भारतीय सेनामा भर्ती भएका उनले भारतीय सेनाको रजत जयन्ती सगरमाथा अभियानको हिस्साका रूपमा सगरमाथाको आरोहण गरेका थिए । 

सम्मान कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष बिद्धान गुरुङ, नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चुडामणि शर्मा, नेपाली काँग्रेस पर्वतका महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमिति सदस्य शिव शर्मा अधिकारी, नेपाली काँग्रेस प्रदेश सभा ‘क’ का सभापति राजकुमार क्षेत्री, कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडाध्यक्ष राम शर्मा लामिछाने, कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष सुरेन्द्र के.सी, कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठ, नेपाली काँग्रेस प्रदेश सभा ‘क’ का सचिव केशव उपाध्याय, कुश्मा नगरपालिका–७ का वडा सदस्य अमृत ठकुरी सहित समाजसेवीहरु खडानन्द पौडेल, मिना रिमाल, घनश्याम लामिछाने, हरि लामिछाने, केशव पौडेल, बाबुराम पौडेल, नारायण अधिकारी, गोपि लामिछाने, सृष्टी लामिछाने, जनार्दन लामिछाने, कमला तिवारी, प्रज्जु तिवारी, रेडियो शालिग्रामका स्टेशन म्यानेजर गोविन्द अधिकारी लगायतले आरोही पि.सी.लाई दोसल्ला, फूल, माला र खादाले सम्मान गरेका हुन् ।