काठमाडौं— बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले शनिबार बूढानीलकण्ठ नगरपालिका–३ मा रहेको अटो कारखानाको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री थापाले उद्योग सञ्चालनको अवस्था, उत्पादन क्षमताका पक्ष र श्रमिकहरूको सुरक्षासम्बन्धी व्यवस्थाको बारेमा जानकारी लिए ।
उनले स्थानीय उद्योगहरूले रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिइरहेको भन्दै राज्यबाट आवश्यक सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताए ।
मन्त्री थापाले भने, ‘प्रदेशको समृद्धिका लागि औद्योगिक विकास र प्राविधिक सीपयुक्त श्रमिकको भूमिका अत्यन्त महत्वपूर्ण छ । यस्ता उद्योगहरूलाई प्रवद्र्धन गर्न सरकार सधंै तयार छ ।’
अनुगमन टोलीमा मन्त्रालयका उच्च अधिकारीहरू, बूढानीलकण्ठ नगरका जनप्रतिनिधि तथा उद्योग सञ्चालकसमेत उपस्थित थिए । कारखानाका सञ्चालकहरूले मन्त्रालयका तर्फबाट नीति तथा प्राविधिक सहयोगको माग गर्दै उत्पादन क्षमता विस्तारका योजना बारे पनि जानकारी गराएका थिए ।
मन्त्री थापाले कारखानाको दक्ष जनशक्ति व्यवस्थापन, सुरक्षा उपकरणको प्रयोग र गुणस्तरीय उत्पादनमा ध्यान दिन सुझाव दिए । उनले प्रदेश सरकारद्वारा सञ्चालनमा रहेका सीप विकास कार्यक्रम र रोजगार प्रवद्र्धन नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उद्योगसँग सहकार्य गरिने बताए ।
अनुगमनपछि मन्त्री थापाले प्रदेशका अन्य औद्योगिक क्षेत्रहरूको समेत स्थलगत निरीक्षण गर्ने जानकारी दिएका छन् ।






































