काठमाडौं— मधेश प्रदेशका राजनीतिक दलहरूले नयाँ सरकार नेतृत्वमा आज दाबी पेस गर्दैछन् । आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएको छ ।

एमाले बाहेक नयाँ मुख्यमन्त्रीको दाबी पेश गर्न ७ दलले तयारी गरेका छन् । नेपाली काँग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपाले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् । 

गठबन्धनमा लोसपाका जितेन्द्र सोनल र काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्य दाबेदार छन् । यहाँ एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै एक सभामुख पनि खाली छ । 

यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । 

१०७ जना सांसद रहेको मधेशमा सरकार बनाउन बहुमतका लागि ५४ जना चाहिन्छ । गठबन्धनसँग ७३ जना सांसद छन् ।