काठमाडौं— नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपक्षका नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु जाँदै छन् । पोखरेलको नेतृत्वमा तयार पारिएको अवधारणापत्र बुझाउन उनीहरू केही बेरपछि ओली निवास जाने तयारी भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

‘नेताहरूले तयार गर्नुभएको छ । हामी अध्यक्षज्यूको समय लिएर भेट्न जाँदै छौँ,’ पाण्डेले जानकारी दिए । 

स्थायी कमिटी सदस्य कर्ण थापाले अवधारणापत्रमा व्यक्तिवादी चरित्र हावी भएको भन्दै त्यसलाई अन्त्य गर्न सुझाव समेटिएको बताएका छन् । त्यस्तै, हरेक कमिटीमा सामूहिक लोकतान्त्रिक पद्धतिको नेतृत्वलाई आत्मसात् गर्नुपर्ने र व्यक्ति सर्वेसर्वा हुने पद्धतिको अन्त्यको माग अवधारणापत्रमा राखिएको छ ।

‘जेन–जी आन्दोलनपछिको बदलिएको परिस्थितिमा गाली  र विरोध मात्रै गरेर हुँदैन भन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘यस्तो परिस्थिति आउनुमा आन्तरिक कारण मुख्य हुन् । बाह्य कारण पनि छन् भने पहिल्याउनुपर्छ भन्ने हाम्रो मुख्य कुरा छ ।’

अहिले पोखरेलपक्षका नेताहरू बागबजारको होटेल हार्दिकमा सामूहिक पत्रकार सम्मेलन गर्दै छन्, जसमा नेता पाण्डेसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत छन् । वरिष्ठ उपाध्यक्ष आउने टुंगो नलागेको बताइएको छ । उनी ओलीलाई बुझाउने अवधारणापत्रको अन्तिम रूप दिन लागिपरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । महाधिवेशन २७–२९ मंसिरमा काठमाडौंमा हुँदै छ ।