काठमाडौं— नेकपा एमालेका सचिव गोकर्ण विष्टले महाधिवेशन प्रतिनिधिहरू सार्वभौम र जिम्मेवार भएर महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् ।
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्र्दभमा अन्तर संवाद गर्दै बिष्टले पार्टी नेतृत्व, प्रतिनिधिहरूको भूमिका र महाधिवेशनले देशको पछिल्लो राजनीतिक परिस्थिति समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
पार्टीभित्रका प्रतिनिधिहरू स्वतन्त्र र सार्वभौम हुनुपर्नेमा जोड दिँदै विष्टले भने, ‘महाधिवेशन सफल पार्न प्रतिनिधि साथिहरूले समातेका मुद्दा, कार्यकर्ताको चाहना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी पार्टीलाई पुनर्गठित र समृद्ध बनाउनु आवश्यक छ ।’
उनले भदौ २३ र २४ पछि मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिको गम्भीर समिक्षा महाधिवेशनले गर्नुपर्ने उल्लेख गरे । उनले विधान महाधिवेशनले पारित गरेका कतिपय नीतिगत धाराहरू परिमार्जन गर्दै बदलिँदो सन्दर्भअनुसार जनताका अपेक्षा तथा युवा पुस्ताको चाहना सम्बोधन गर्न पार्टीलाई सक्षम बनाउनु महाधिवेशनको प्रमुख उद्देश्य हुनुपर्ने बताए ।
उनले भने, ‘भाद्र २३, २४ पछाडि मुलुकमा उत्पन्न परस्थितीलाई हामीले गम्भिरता साथ समिक्षा गर्न जरुरी छ । विधान महाधिवेशनले पारित गरेका कतिपय नीतिगत पक्षहरुलाई परिमार्जन गर्ने, समृद्ध बनाउने परिवर्तित सन्र्दभमा जनता र युवा पुस्ताले जे अपेक्षा राखेको छ त्यो कुरा सम्बोधन गर्ने गरी पार्टीलाई विकास गर्ने तहमा महाधिवेशनले सफलता प्राप्त गर्न सक्नुपर्दछ ।’






































