काठमाडौं— बौद्धस्थित हायात रिजेन्सी होटेल र कर्मचारी प्रतिनिधि बीच होटेल पुनर्निर्माण अवधि पूरा नहुँदासम्म श्रमिकलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ।
२४ भदौमा जेन जेड आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएपछि होटेल सञ्चालन बन्द छ। ठूलो भौतिक क्षति भएकाले पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने अनुमान गरिएको छ। सोही कारण होटेल व्यवस्थापन र कर्मचारी पक्षबीच वार्ता गरेर नयाँ व्यवस्था तय गरिएको हो।
होटेल व्यवस्थापनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा भएको क्षतिले होटेल पूर्ण रूपमा मर्मत–सम्भार नगरी सञ्चालनयोग्य छैन।”
सहमतिअनुसार एक वर्षसम्म सबै कर्मचारीले न्यूनतम आधारभूत तलब प्राप्त गर्नेछन्। साथै सामाजिक सुरक्षा कोषमा पनि होटेलले नियमित योगदान गर्नेछ। बन्द अवस्थामा पनि कर्मचारीको रोजीरोटी सुरक्षित राख्न यो व्यवस्था गरिएको व्यवस्थापनले स्पष्ट पारेको छ।
मर्मत–सम्भार सकिएपछि सहमतिमा बसेका कर्मचारीलाई पूर्ववत् रूपमा काममा फर्काइनेछ। व्यवस्थापनका अनुसार अधिकांश कर्मचारी सहमतिमा सकारात्मक छन्। सहमतिमा नआउने कर्मचारीका लागि भने श्रमिक कटौती प्रक्रिया लागू गरिने उल्लेख गरिएको छ।






































