सर्लाही— गरिमा विकास बैंक मलंगवाका ऋणी नथुनी मुखिया बिनले बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रांगणमा पेट्रोल छर्केर आत्मदाह गर्न खोजेपछि प्रहरीको तत्काल हस्तक्षेपमा उनी उद्धार भएका छन्। चन्द्रनगर–६, कामदका मुखियाले बैंकले ठगी गर्दै आफ्नो सम्पूर्ण जग्गा–जमिन लिलामीमा पारेपछि बाध्य भएर यस्तो कदम खोलेको दाबी गरेका छन्।

मुखियाले बैंकले जबर्जस्ती आफ्नो सम्पत्ति लिलामी गरेको र न्यायका लागि पटक–पटक सम्बन्धित निकायमा धाए पनि सुनुवाइ नभएको आरोप लगाए। उनले बैंकसँग मिलेमतो गरी प्रहरी र प्रशासनले पनि आफूलाई सहयोग नगरेको दाबी गरेका छन्। आत्मदाह प्रयासपछि प्रहरी कार्यालय परिसर केही समय तनाबपूर्ण बनेको थियो।

कार्यालय परिसरमै पेट्रोल छर्केर आगो लगाउन खोज्दा प्रहरीले उनलाई रोक्दै नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। अहिले उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार बैंकले जिल्ला प्रशासन कार्यालयमा शान्ति–सुरक्षा सम्बन्धी पत्र पठाएपछि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो। सोही छलफलकै दौरान मुखियाले पेट्रोल छर्केर आत्मदाह गर्न खोजेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।