काठमाण्डौ । नेकपा एमालेको महासचिवका स्वाभाविक दाबेदार मानिएका प्रदीप ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले नपत्याएपछि खुलेआम विद्रोह गरेका छन्।
एमाले राजनीतिमा सधैं ओलीको ढाल बनेर उभिएका ज्ञवालीले एघारौँ महाधिवेशनको औपचारिक घोषणा हुनुअगावै आफूलाई महासचिवको दाबेदारका रूपमा प्रस्तुत गरेका थिए। उनलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहितको बलियो समर्थन थियो। तर ओलीले उपमहासचिव विष्णु रिमालको जोडबलमा शंकर पोखरेललाई नै महासचिवमा दोहोर्याउने निर्णय गरे। पोखरेलले मनोनयन दर्ता गरिसकेका छन् र अब उनी सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धामा उत्रनेछन्। उपमहासचिव ज्ञवालीको उम्मेदवारीमा पर्शु पाण्डे प्रस्तावक र रामजी ढकाल समर्थक बनेका छन्।
ओली टिमले उनलाई उपाध्यक्षको उम्मेदवार बनाउन अन्तिम सूचीसमेत तयार गरेको थियो। तर महासचिव नपाएपछि ज्ञवाली पदाधिकारी सूची नै च्यातेर बाहिरिए। गुल्मीका नेता गोकर्ण विष्ट खुलेआम ओली विरोधी कित्तामा लागिरहेको बेला गुल्मीकै अर्को नेता अर्थात् ओलीको कट्टर समर्थक प्रदीप ज्ञवालीले ओली प्यानलमा महासचिवको उम्मेदवार बन्न नपाएपछि रिसाउदै महाधिवेशन स्थल छोडेर आफ्नो घर गएका छन्।






































