काठमाडौं । उच्च अदालत तुलसीपुरले दिएको आदेशपछि रास्वपाका सभापति रवि लामिछाने शुक्रबारमात्रै थुनामुक्त हुनेछन् ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको हो ।
"प्रतिवादी रवि लामिछानेको निवेदनका सन्दर्भमा विचार गर्न निजले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पुर्पक्ष गरीपाउँ भन्ने देखिन्छ," आदेशमा भनिएको छ, “प्रतिवादीले बिगोको हकमा दामासाहीले हुने रकम जमानत दिई बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको देखियो । बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकतादेखिँ निजले दिएको बैंक जमानत स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउनू ।”
पाँचवटा सर्तसहित मुद्दाको कारबाही अघि बढाउन अदालतले आदेश गरेको छ ।
यसैबीच रास्वपाका नेता हरि ढकालका अनुसार अब लामिछानेलाई शुक्रबारमात्रै जिल्ला अदालत भैरहवामा उपस्थित गराइनेछ ।
त्यसपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर रिहा गरिनेछ ।
"शुक्रबारमात्रै भैरहवा जिल्ला अदालतमा उपस्थित गराइने हुँदा सबै साथीहरु भैरहवामा उपस्थित भइदिनुहोला," ढकालले भने ।






































