काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ससर्त रिहा भएसँगै आज (शनिबार) बाट पुनः सार्वजनिक कार्यक्रममा देखिने भएका छन् । शुक्रबार नख्खु कारागारबाट थुनामुक्त भएका लामिछानेले आफ्नो पहिलो सार्वजनिक उपस्थितिका लागि गृह जिल्ला एवं निर्वाचन क्षेत्र चितवनलाई रोजेका हुन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले आज बिहान ११ बजे चितवनको भरतपुरस्थित चौबिसकोटीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । लामो समयपछि जनतामाझ फर्किन लागेका लामिछानेको सम्बोधन छोटो तर विशेष हुने बताइएको छ । चितवनको कार्यक्रम सकेर लामिछाने आजै काठमाडौं फर्किने कार्यतालिका तय भएको छ । काठमाडौं फर्किएलगत्तै उनले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरू तथा शहीद परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिए ।

यसैगरी, आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थली (घण्टी घर) मा लामिछानेलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गर्ने कार्यक्रम समेत राखिएको छ । प्रवक्ता झाले सामाजिक सञ्जाल एक्समार्फत स्वागत कार्यक्रमको जानकारी गराएका हुन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिगो रकम धरौटीमा लिई थुनामुक्त गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रिहा भएका थिए ।