काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा पराजित भएकी पूर्वकेन्द्रीय सदस्य नवीना लामाले आफू पुनः टुहुरो भएको अनुभूति भएको बताएकी छन्।

पार्टीको एघारौं महाधिवेशनमा केन्द्रीय सदस्य पराजित भएकी लामाले फेसबुकमा स्ट्याटस लेखेर निर्वाचित पदाधिकारि र केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै आफू भने पुनः टुहुरो भएको बताएकी हुन्।

बुबा बितेको चार महिना पुग्दै गर्दा मनभित्रको टुहुरोपन बोकेर ११औं महाधिवेशनमा सहभागी भएँ । आज फेरि पनि त्यही गहिरो टुहुरो भएको अनुभूति मनमा बल्झिरहेको छ,’ उनले भनेकी छन्।

उनले आफू अध्यक्ष केपी शर्मा ओलीको समूहमा रहन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न गरिएको पनि बताइन्।

‘तर टिममा समेटिन सकिनँ। अध्यक्ष कमरेडप्रति मेरो गहिरो विश्वास थियो, किनकि कक्षा ६ देखि एमाले–अखिलको राजनीतिमा होमिँदै काभ्रे जिल्ला कमिटी, अखिल केन्द्रीय सदस्य, सचिवालय सदस्य, स्ववियु सचिव, सभापति हुँदै अखिलको उपाध्यक्ष, महासचिव र अध्यक्षसम्मका जिम्मेवारीहरू वहन गरेँ। पार्टी केन्द्रीय सदस्य र समानुपातिक सांसदको भूमिका पनि निर्वाह गर्ने अवसर पाएँ। यो सम्पूर्ण राजनीतिक यात्रा कमरेड हरु कै नेतृत्व र टिमसँग जोडिएको थियो,’ उनले लेखेकी छन्।

टिम निर्माणको घडीमा त्यो टिममा मेरो नाम नरहनु आफ्ना लागि अत्यन्त पीडादायी यथार्थ बनेको उनले बताइन्।

‘यसको कारण पार्टी पुनर्गठनसम्बन्धी र क। विद्या देवी भण्डारीको पार्टी सदस्स्यको विषयमा बैठकमा व्यक्त गरिएको मेरो धारणा पनि रहेको बुझाइमा छु,’ उनले भनेकी छन्।  

लामाले महिला खुलातर्फ उम्मेदवारी दिएकी थिइन्। १५७९ मत पाएकी उनी २० मतको अन्तरले पराजित भएकी थिइन्।

पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म पराजित नभएको राजनीतिक यात्रामा अहिलेको पहिलो हार रहेको उनले बताएकी छन्।