काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री भई देशको सेवा गर्ने आफ्नो चाहना रहेको बताएका छन् ।
काठमाडौँमा आयोजित जेन-जीसँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताए ।
तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उनले आशंका जनाए ।
सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्ने कुरा कसैले नपत्याएको उनको भनाइ छ ।
प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनका लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्दै उनले निर्वाचन हुनेमा शंका व्यक्त गरे ।
उनले सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिए।
सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उनको भनाइ छ ।
उनले जेन-जीको माग पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको बताए ।
उनले वर्तमान सरकारले जेन-जी आन्दोलनको मागअनुसार भ्रष्टचारीलाई कारबाही अघि नबढाएको आरोप पनि लगाए ।
यो सरकारले जेनऔजीका माग पूरा गर्न नसक्ने उनको भनाइ छ ।
उनले निर्वाचनमार्फत नयाँशक्तिको उदय हुनुपर्नेमा पुरानै शक्ति सलबलाउन थालेको आरोप लगाए ।






































