काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भव्य स्वागत गरिएको छ ।

रास्वपाको केन्द्रीय कार्यालयमा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताएका छन् । जेनजीले विद्रोह गरेको र त्यसलाई क्रान्तिमा बदल्न बाँकी रहेको भन्दै रास्वपाले जेनजी आन्दोलनले उठाएका माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने- 'जेनजीले विद्रोह गरेको छ, क्रान्तिमा बदल्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैन सिंहदरबार बदल्न पनि आवश्यक छ ।'   

लामिछानेले चुनावमा जानुको विकल्प नरहेको बताउदै रास्वपाले चुनावको वातावरण बनाउन सहयोग गर्ने बताए । उनले जेनजी आन्दोलनलाई दमन गरेकाहरु अहिले सल्बलाएकोभन्दै चुनावमा गएर जनताको मत जित्न चुनौती दिएका छन् ।

उनले जेनजीले उठाएका माग पुरा गर्न रास्वपा सरकारसँग साथमा रहेको बताए । उनले आफुले न्याय पाउन बाँकी नै रहेको बताउदै उनले आफ्नो न्याय भन्दापनि देशको न्याय महत्वपूर्ण भएको र त्यसका लागि सबैको साथ आवश्यक रहेको बताए ।