काठमाडौं—  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ।

आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। हाल राष्ट्रियसभाका १८ सदस्यको कार्यकाल फागुन २० गतेदेखि समाप्त हुँदैछ, जसका लागि निर्वाचन हुन लागेको हो।

निर्वाचन कार्यक्रमअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन पाउनेछन् र सोही दिन दिउँसो अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता सूची र मतभार निर्धारण गरी आयोगले सार्वजनिक गरिसकेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाललगायत प्रमुख दलहरूबीच सहकार्य गरेर चुनाव लड्ने तयारी भइरहेको छ।