काठमाडौं / तिब्बत–नेपाल सीमामा आएको भीषण बाढीका कारण अलपत्र परेका भारतको महाराष्ट्रका ३७ जना कैलाश मानसरोवर तीर्थयात्री सुरक्षित रूपमा काठमाडौंतर्फ फर्किएका छन्।

कैलाश मानसरोवर यात्रा सम्पन्न गरी स्वदेश फर्कने क्रममा सागा क्षेत्रमा रोकिएका तीर्थयात्री शुक्रबार बिहान न्यालम चेकपोस्ट हुँदै काठमाडौंका लागि प्रस्थान गरेका हुन्। उनीहरूको काठमाडौंबाट भारत फर्किने उडान तय भएकाले समयमै उद्धार र आवागमन व्यवस्थापन गरिएको बताइएको छ।

घटनाबारे जानकारी पाएपछि महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भारत सरकारको विदेश मन्त्रालयसँग समन्वय गरी तीर्थयात्रीको सुरक्षित फिर्ती सुनिश्चित गरेका थिए। समयमै गरिएको समन्वयका कारण सबै यात्रु कुनै मानवीय क्षतिबिना नेपाल प्रवेश गर्न सफल भएका छन्।

उता, रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालमा भने जोखिम अझै कायम रहेको छ। माथिल्लो भेगबाट पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाल प्रहरीले त्रिशूली नदी आसपासका बासिन्दा, सुरक्षाकर्मी र उद्धार टोलीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार तिब्बततर्फको अस्थायी पानी रोक्ने बाँध पुनः भत्किएको सूचना प्राप्त भएकाले नदी किनार र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा बस्न तथा अनावश्यक जोखिम नलिन अनुरोध गरिएको छ।